निरज लम्साललाई प्रभु बैंकको कार्यवाहक सीईओको जिम्मेवारी

काठमाडौं । प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत ( कार्यवाहक सीईओ)को जिम्मेवारी निरज लम्सालले पाएका छन् । बैंक सञ्चालक समितिले दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन लम्साललाई कामु सीईओको जिम्मेवारी दिइएको सूचना अधिकारी रविन्द्र ढकालले जानकारी दिए । 

उनका अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेलसहित ३ जना कर्मचारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रक्रियामा रहेको हुनाले बैंकको दैनिक कार्य सञ्चालनका लागि मंसिर १४ गते देखि लागू हुने गरी लम्साललाई कामु सीईओको जिम्मेवारी दिइएको हो । 

चिफ रिकभरी अफिसर रहेका लम्साल हाल बैंकमा सीईओ र डीसीईओपछि तेस्रो वरियतामा छन् । 

बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाइएको उनले बताए । अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको विश्वास दिलाउन चाहेको उनको भनाइ छ । 

Share News