काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशन पुस मसान्तसम्म सम्पन्न गर्ने सहमति जुटाएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा वरिष्ठ नेता डा. शेखर कोइराला र नेता रमेश लेखकले केही समय पहिले प्रस्तुत गरेको महाधिवेशन सम्बन्धी प्रस्तावको वरिपरि सहमति कायम भएको एक नेताले बताए ।
पछिल्लो समय कोइरालाले पार्टीभित्र मध्यमार्गी रणनीति अख्तियार गर्दै आएका थिए । निर्वाचन पहिले महाधिवेशन गर्ने र निर्वाचन पछि महाधिवेशन गर्ने भन्ने बहस हुँदा कोइरालाले संक्षिप्त महाधिवेशनको समेत प्रस्ताव गरेका थिए ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवाले नेता कोइराला र लेखकको प्रस्तावको वरिपरि सहमति खोज्न सुझाव दिएको देउवा निकट एक नेताले बताए । अब कांग्रेसको आन्तरिक राजनीति सहज बन्दै जाने विश्वास गरिएको ती नेताले जानकारी दिए ।
नेपाली कांग्रेसको गत असोज २८ देखि जारी केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिमा अड्किएको थियो।
ती नेता भन्छन्, ‘महाधिवेशनको मितिको विवाद मिलाएर महाधिवेशन पुष मसान्तसम्म गर्ने सहमति जुटेको छ ।’