काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २६४९ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ४५ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आइतबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै जोशी हाइड्रोको २१ करोड ८१ लाख, गी्रन भेन्चरको २१ करोड ३५ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको २१ करोड र नेपाल लाइफको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, निफ्रा ग्रीन इनर्जी, स्वस्तीक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
आइतबारको कारोबारमा अधिकांश समूहका सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशतले बढेको छ । बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशतले घटेका छन् । त्यस्तै माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा ०.६९, अन्य १.०४ र व्यापार ०.५१ प्रतिशतले घटेका छन् ।