किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू, प्रति क्रेटलाई ५६० रुपैयाँ

चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । शनिबारदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।

शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन तथा बजारीकरणबारे छलफल गर्दै आजदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ  । किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्यसूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ ।

नयाँ दरअनुसार अति ठूलो (एक्स एल) अण्डा प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डा ५४५, मिडियम अण्डा ५३० र सानो अण्डा प्रतिपेटी ३२५० रुपैयाँ रहेको छ ।

सङ्घका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट ४० रुपैयाँले वृद्धि भएको हो । भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको सङ्घले जनाएकाे छ । सङ्घका अनुसार जाडो महिनामा अण्डाको खपत स्वभाविक रूपमा बढ्ने गर्छ । सङ्घले भनेकाे छ, 'चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढेको छ ।'

गत साउनमा पनि ५६० रुपैयाँनै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो । हाल फेरि क्रमशः वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ । रासस

Share News