काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा शुक्रबार पुनरावेदनको निवेदन दर्ता गरेको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भएको फैसला उपर पुनरावदेन दिएको हो ।
आयोगले रानाभाटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो ३ करोड १५ लाख ८१ हजार ६६ दशमलब ८० कायम गरी मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाइ दिएकाले उल्लेखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।