काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरूलाई वार्ताका लागि बोलाए पनि उक्त समूहले वार्ताको औचित्य नभएको जनाएको छ ।
शुक्रबार सभापति शेरबहादुर देउवासँग भएको छलफलपछि खड्काले वार्ताको पहल गरेका गरिरहेका छन् । तर हस्ताक्षर अभियान चलाइरहेका नेताहरूले अब वार्ताका लागि वार्ता नगर्ने जनाएका हुन् ।
हस्ताक्षर अभियानका नेतामध्येका गुरुराज घिमिरेले उनीहरूलाई शनिबार बिहान साढे ८ बजे वार्ताका लागि बोलाएको बताएका छन् । तर उक्त समूहका अर्का नेता जगदीश्वर नरसिंह केसीले वार्ताको औचित्य समाप्त भएको दाबी गरेका छन् ।
केसीले विकासन्युजसँग भने, ‘संस्थापन पक्षको मनसाय नै गलत छ । ऊ महाधिवेशन नै गर्न चाहँदैन । महाधिवेशन नगर्ने, समय घर्काउँदै जाने र अन्तिममा आम निर्वाचन आयो, अहिले सकिँदैन भनेर टार्ने खेलमा संस्थापन पक्ष छ ।’
नियमित महाधिवेशन माघको पहिलो हप्ता गर्ने र विशेष महाधिवेशनको प्रस्ताव यथास्थितिमा राख्ने सहमति १० घण्टा पनि टिक्न नदिएको संस्थापन पक्षसँग विश्वास गर्ने वातावरण समेत नरहेको अर्का एक नेताले दाबी गरे ।
कांग्रेसमा अहिले १५ औं महाधिवेशनको सवालमा किचलो बढेको छ । संस्थापन पक्ष आगामी वैशाखमा १५ औं महाधिवेशन गर्ने तयारीमा छ । महामन्त्री गगन थापा समूह भने विशेष महाधिवेशनको पक्षमा रहेको छ । पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार उक्त समूहले विशेष महाधिवेशनको माग गरेको छ ।