काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायतले पुस्तकको लोकार्पण गरे ।
कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धकालमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर अघि बढन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
उनले पुस्तकलाई ‘युद्धको ऐना’का रूपमा चित्रण गरे ।
उनले उक्त पुस्तकमाथि टिप्पणी राख्ने क्रममा जनयुद्धकालमा जाजरकोटमा बिताएको तीन वर्ष स्मरण गर्दै पुस्तकले त्यही कालखण्डलाई जीवन्तता दिएको बताए ।
‘हामीले दिल्लीबाट ‘नेपाल आवाज’ पत्रिका निकाल्थ्यौं । जाजरकोटका विकट पहाडमा रेडियो गणतन्त्रको एन्टेना २५–३० मिटर रूख चढेर राख्थ्यौं,’ अध्यक्ष दाहालले स्मरण गरे, ‘लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोल, त्यसको रिजल्ट युद्ध हो भनिन्थ्यो । त्यसैको जगमा गणतन्त्र आयो भन्दा मलाई गर्व लाग्छ ।’
पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पुस्तक इतिहासको साक्षी भएको बताइन् ।
उनले भनिन्, ‘युद्धमा कलम समात्ने पत्रकारले भोगेका जोखिम, चुनौती र सफलतालाई लेखकले दस्ताबेज बनाउनुभएको छ । यो इतिहासको दस्ताबेजीकरण हो ।’
प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले पुस्तकलाई नेपालको ऐतिहासिक कालखण्डको महत्त्वपूर्ण कृतिका रूपमा टिप्पणी गरे । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिनुभएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताए ।
पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकहरूले बताए । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक संघर्ष र जनयुद्धका गतिविधिहरूको दस्तावेज पुस्तकले समेटेको छ ।
लेखक शर्माको पुस्तकमा तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र संघर्ष, द्वन्द्व र जोखिमपूर्ण अवस्थाबाट समाचार संकलन गर्ने पत्रकारहरूको भूमिकाबारे लेखिएको छ ।
‘युद्ध पत्रकारिता’ शर्माको दोस्रो पुस्तक हो । यसअघि उनको ‘जुनीदेखि पिलीसम्म’ प्रकाशित छ ।