४३ करोड नयाँ नोट छाप्न २ अर्ब ४३ करोड रुपैयाँ लागत

१ हजार रुपैयाँ दरका ४३ करोड नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति लागत २ अर्ब ४३ करोड रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । पौडेलले राष्ट्र बैंकको गभर्नरको पदभार ग्रहण गर्दै गत जेठ ७ गते ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णय गरेका थिए । 

पौडेलको पहिलो निर्णय बमोजिम राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४३ करोड थान र २१ अर्ब रुपैयाँ बराबरको ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको हो । दुबै दरका नयाँ नोटमा हालका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १ हजार रुपैयाँ दरका ४३ करोड नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् पछिल्लो विनिमय दर अनुसार २ अर्ब ४३ करोड रुपैयाँ लागत लाग्नेछ । उक्त लागतका आधारमा एउटा १ हजार रुपैयाँको एउटा नोट छाप्न ५.६५ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । 

यस्तै, ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ लागत लाग्ने विभागले जनाएको छ । सो लागतका आधारमा एउटा ५० रुपैयाँको नोट छाप्न ३.५२ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता भएको छ । 

५० रुपैयाँ दरका नयाँ नोट छाप्न गत कात्तिक २५ गते र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न मंसिर ११ गते चाइना बैंकनोट प्रिन्टिङसँग सम्झौता भएको विभागले जनाएको छ । विभागका अनुसार ५० रुपैयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि गत साउन ९ गते र १ हजार रुपैयाँका नोटका लागि भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । 

Share News