एनपीएल क्रिकेटः काठमाडौंको चितवनलाई १४३ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले  चितवन राइनोजलाई  १४३  रनको लक्ष्य दिएको छ । 

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे ।

चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट लिए ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा मात्रै जित निकालेको छ । 

यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

Share News