उच्च अदालतको आदेशपछि २० लाख धरौटीमा पूर्वसभामुख महरा रिहा

फाइल तस्बिर ।

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका महरा बिहीबार (आज) धरौटीमा रिहा भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

यसअघि असोज २९ मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

त्यसपश्चात उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । महरा धरौटी बुझाएर रिहा भएको जिल्ला अदालतले जनाएको छ । 

महरालाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो । 

उच्च अदालतले पाटनले महराबारे थप प्रमाण संकलन नगरी अभियोग दर्ता गरेको उल्लेख गरेको छ । 

‘मूल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरू अभियुक्तले पनि पोल गरेको देखिँदैन,’ अदालतले भनेको छ।

अदालतका अनुसार मूल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण देखिएको छैन । 

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख महरा  गत असोज २६ गते पक्राउ परेका थिए । 
 

Share News