काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा प्रयोग गर्नेछ ।
चांगानको उत्पादन क्षमता सीमा नजिक पुगेकोले आफ्नो उत्पादन विस्तार आवश्यक थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनपछि दिपलले यसलाई पुष्टि गरेको छ ।
कम्पनीका अनुसार यो प्लान्ट पहिले बेइजिंग हुन्डाईका पाँच उत्पादन केन्द्रमध्ये एक थियो । सन् २०१५ मा निर्माण सुरु भई २०१७ अगस्तबाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्गमिटरमा फैलिएको छ । यसको प्रारम्भिक लगानी १.१ बिलियन डलर रहेको थियो र वार्षिक उत्पादन क्षमता तीन लाख युनिटको थियो । तर, यो कारखाना २०२१ डिसेम्बरदेखि बन्द अवस्थामा रहेको थियो ।
हाल दिपलका इलेक्ट्रिक भेइकलहरू (इभी) नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन भइरहेका छन् । नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ । यसै वर्ष अक्टोबर महिनामा दिपल इभीको विक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरिएको छ ।
चांगानले दिपललाई विश्वव्यापी स्तरमा विस्तार गर्ने लक्ष्यसहित युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडल सार्वजनिक गर्दै आएको छ । दिपलको एस०५ र एस०७ मोडल भर्खरै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएका थिए भने केही दिनअघि ब्राजिलमा पनि लन्च गरिएको थियो ।