सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी लायन्सको हारको ह्याट्रिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित रहेको टोली सुदूरपश्चिम रोयल्सले चौथो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा लुम्बिनीको यो लगातार तेस्रो हार हो । 

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।४ ओभरमा १ सय ४३ रन जोड्दा अलआउट भएको थियो ।

जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्यो । सुदूरपश्चिमको प्रभावशाली जितमा ओपनर विनोद भण्डारीले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय इनिङ्स खेले । 

उनले आरिफ शेखसँग चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।

शेख ३९ रनमा आउट भएका थिए । यी दुईबाहेक क्रिस लिनले १६ रन बनाउँदा जोश ब्राउनले ९ रन बनाएका थिए ।

लुम्बिनीका लागि रुवेन ट्रम्पलमेन र अभिशेष गौतमले १(१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए । त्यस्तै, ड्’यार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा गुल्बदिन नाइबको ११ रन रह्यो ।

लुम्बिनीले पहिलो खेलमा जित निकालेयता लगातार पराजय भोगिरहेको छ ।

सुदूरपश्चिम ४ खेलबाट ८ अङ्क बनाई शीर्ष स्थानमा कायम रहँदा पराजित लुम्बिनीको समान खेलबाट २ अंक मात्र रहेको छ ।

Share News