नेकपा संयुक्तमा प्रवेश गरे एकीकृत समाजवादीका महासचिव भुसाल

घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी ।

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभएका समाजवादीका महासचिव घनश्याम भुसाल नेकपा संयुक्तमा प्रवेश गरेका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममार्फत महासचिव भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान औपचारिक रूपमा नेकपा संयुक्तमा समाहित भएको घोषणा गरेका हुन्।

कम्युनिस्ट आन्दोलनका पुराना नेता विष्णुबहादुर मानन्धरले स्थापना गरेको नेकपा मानन्धर नै अहिलेको नेकपा संयुक्तको आधार हो । २०४८ को आम निर्वाचनताका उक्त पार्टीको नाम परिवर्तन गरी नेकपा प्रजातन्त्रवादी राखिएको थियो । 

२०४७ को अन्तरिम सरकारमा कानुनमन्त्रीका रूपमा समावेश भएका निलाम्बर आचार्य त्यतिबेला यही दलका प्रतिनिधि थिए । यस दलले २०४८ को आम निर्वाचनमा ३ सिट जितेको इतिहास छ ।

पछि २०४९ मा नेकपा प्रजातन्त्रवादी, बर्मा समूह र अमात्य समूह एकीकृत भएर नेकपा संयुक्त बनेको थियो । अब एमालेका पूर्वउपमहासचिव तथा नेकपा समाजवादीका महासचिव रहेका भुसालसहित उनको समूह यस पार्टीको नेता बन्नेछन् । भुसालको नेकपा संयुक्त प्रवेशलाई राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ ।

भुसाल समूहले नेकपा संयुक्तकै निर्वाचन चिन्ह हँसिया स्वीकृत गरेको भुसाल निकटस्थ एक नेताले जानकारी दिए । 

उनका अनुसार निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएकै कारण उनीहरू संयुक्तमा समाहित हुने निर्णयमा पुगेका हुन् ।

Share News