काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले विगत वर्षझैँ यस वर्ष पनि सलिको गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ईन्स्योरेन्सले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब, त्रिभुवन विमानस्थल क्षेत्र, काठमाडौंमा सलिको गल्फ प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो ।
उक्त प्रतियोगितामा १७ विधाका खेलहरू सञ्चालन गरिनेछन्, जहाँ विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजना गर्नुको उद्देश्य गल्फ खेलमा रुचि राख्ने खेलाडीहरूको सीपलाई अभिव्यक्त गराउनु तथा यो खेलबारे रुचि राख्ने सबैलाई प्रत्यक्ष आनन्द लिन सक्ने वातावरण निर्माण गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ ।
विश्वमा अत्यधिक लोकप्रिय खेलमध्ये गल्फ पनि एक भए तापनि नेपालको सन्दर्भमा यसको विकास पर्याप्त रूपमा हुन नसकेको पृष्ठभूमिमा, यस प्रतियोगिताले खेलको विस्तार र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा राखिएको छ ।
प्रतियोगितामा समावेश १७ विधामध्ये ‘होल इन वान’ विधाको पुरस्कारका लागि सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटा नेक्सन के३ विद्युतीय सवारी, अन्य विधामा सिम्रिक वायु सेवाद्वारा २ जनालाई आकाश उडान (स्काइ डाइभिङ) अनुभव, तथा कैलाश हेलिकोप्टर सेवाबाट १ जनालाई गोसाइँकुण्डको हेलिकोप्टर यात्रा उपलब्ध गराइनेछ । साथै अन्य आकर्षक पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ ।
यसै अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वबारे प्रकाश पार्दै, विभिन्न प्रकारका जोखिमबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता तीव्र रूपमा बढ्दै गएको जनाएको छ । वर्तमान परिवेशमा जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढिरहेकाले खेलकुद गतिविधिमा संलग्न व्यक्तिहरूमाझ निर्जीवन बीमाबारे सचेतना फैलाउने उद्देश्य पनि रहेको कम्पनीले स्पष्ट पारेको छ ।