धनको खेल : गुगल जोडीले एलिसनलाई चौंथो स्थानमा धकेले

काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा यतिबेला तीव्र उतार–चढाव देखिँदैछ । गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनको नेटवर्थमा आएको उल्लेख्य वृद्धिपछि ओरेकलका ल्यारी एलिसन शीर्ष ३ बाट बाहिरिएका छन्। 

ब्लूमबर्ग बिलियनियर इन्डेक्सअनुसार एलिसनको नेटवर्थ घटेपछि उनी चौथो स्थानमा झर्नुपरेको हो, जबकि पेज र ब्रिन क्रमशः दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन् ।

विश्वका शीर्ष १० धनीमध्ये दुई जनाको नेटवर्थमा गिरावट आएको हो जसमध्ये एलिसन र एनभीडीयाका संस्थापक जेनसन हुवाङ परेका छन् ।

एलिसनको नेटवर्थमा २.९२ अर्ब डलरको कमी आएको छ र उनी २५४ अर्ब डलरसहित धनीहरूको सूचीमा चौथो स्थानमा पुगेका छन् । अर्कोतर्फ ब्रिनको नेटवर्थ ३.९२ अर्ब डलरले बढेर २५८ अर्ब डलर पुगेको छ, जसले उनलाई तेस्रो स्थानमा पुर्यायाएको हो । यो वर्ष मात्रै ब्रिनको नेटवर्थमा ९९.३ अर्ब डलरको वृद्धि भएको छ ।

एलन मस्क हाल ४४२ अर्ब डलरका साथ सूचीमा पहिलो स्थानमा छन् भने ल्यारी पेज २७६ अर्ब डलरसहित दोस्रो स्थानमा । यो वर्ष पेजको सम्पत्ति सबैभन्दा धेरै १०८ अर्ब डलरले बढेको हो ।

अमेजनका संस्थापक जेफ बेजोस २५१ अर्ब डलरसहित पाँचौं; फेसबुकका मार्क जुकरबर्ग (२२५ अर्ब) छैटौं; फ्रान्सका बर्नार्ड अरनोल्ट (१९६ अर्ब) सातौं; स्टीभ बाल्मर (१६६ अर्ब) आठौं; माइकल डेल (१५५ अर्ब) नवौं र जेनसन ह्वाङ (१५५ अर्ब) दशौं स्थानमा छन् ।

अमेरिकी लगानीकर्ता वारेन बफेट (१५३ अर्ब) सूचीमा अहिले ११औं स्थानमा छन् । भारतका मुकेश अम्बानी (१०७ अर्ब) १८औं र गौतम अदानी (८६.५ अर्ब) २०औं स्थानमा परेका छन् ।

विश्वका अर्बपतिहरूको नेटवर्थ परिवर्तन भइरहनुका कैयौं कारण छन् । प्रमुख रूपमा कम्पनीका सेयर मूल्यमा उतार–चढाव, टेक सेक्टरको तीव्र मन्दी र वैश्विक आर्थिक वातावरणले सूचीको क्रम प्रभावित गर्छ । सेयर बजार घटेमा अर्बपतिहरूको नेटवर्थ तुरुन्तै संकुचित हुन्छ र उछाल आएमा उनीहरूको नेटवर्थ बढेर स्थानसमेत माथि चढ्छ ।

त्यस्तै, कम्पनीको कमाइ, त्रैमासिक रिपोर्ट, नयाँ प्रोजेक्ट वा इनोभेसन, तथा सरकारी नीति–निर्देश, ब्याजदर र डलरको मूल्य जस्ता कारकहरूले पनि उनीहरूको नेटवर्थमा प्रत्यक्ष असर पार्छ । धेरै अर्बपतिहरूको नेटवर्थ सेयरमा आधारित भएकाले बजारका साना–साना हलचलले पनि सूचीमा ठूलो फेरबदल देखिन्छ ।

Share News