काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सुरक्षा कोषमा जम्मा भएको श्रमिक र रोजगारदाताको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गनुपर्ने बताएकी छन् । बिहीबार आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमका बोल्दै उनले दिन प्रतिदिन आकार बढ्दै गएको कोषको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताएकी हुन् ।
उनले राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गम्भीरतापूर्वक अहिले नै गृहकार्य गर्नु आवश्यक रहेको बताइन् ।
उनले सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गरिन् । उनले आफ्ना श्रमिक–कर्मचारीहरुको सामाजिक सुरक्षालाई बोझको रुपमा नलिएर यसलाई शानको रुपमा लिनु पर्ने धारणा राखिन् ।
‘हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिन्छ।यसको सफल कार्यान्वयबाट नै हुनेले नहुनेलाई, धनीले गरीबलाई, निरोगीले रोगीलाई प्रणालीबद्ध रुपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण हुने रहेछ,’ उनले भनिन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ यसैको एउटा त्रिपक्षीय संयोजन रहेको बताउँदै यसको सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमा नै श्रम गरेर बस्ने वातावरण तयार हुने र आजको नारामा उल्लेख भए अनुसार समग्र उत्पादकत्व अभिवृद्धि गर्ने आधार निर्माण गर्न सकिने बताइन् ।
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकारको छोटो कार्यकालमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपस्थित मन्त्रीहरूसँग छलफल भइरहेको उनले जानकारी दिइन् ।

‘औपचारिक क्षेत्रको अनिवार्य आबद्धताको कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कानुनी रुपमा गर्नुपर्ने सह–योगदानमा संघीय सरकारले कति गर्ने, सरकारी करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस कसरी गराउने र कोषको रकमलाई न्यायोचित प्रतिफलसहित राज्यले आन्तरिक पुँजीको रुपमा परिचालन गर्ने विषयहरुलाई कसरी स्पष्ट दिशा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी राज्यप्रति नागरिकको अपनत्व सिर्जना हुने गरी सम्बोधनको लागि वातावरण तयार गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनिन् ।