रवि–छविलालको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेको छैन ।

३ नं इजलासमा मुद्दा परे पनि सुनुवाइ हुन नसकेको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध आरोपमा थुनामा रहेका दुवै जनाको मुद्दा गत साता पेशी तोकिए पनि लामिछाने पक्षका कानुन व्यवसायीले स्थगन मागेपछि रोकिएको थियो ।

यसअघि कात्तिक २० गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएपछि अघिल्लो साता पेशी तोकिएको थियो । तर फेरि लामिछाने पक्षको आग्रहमा मुद्दा स्थगित भएको तुलसीपुर उच्च अदालतको बुटबल इजलासका  सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

त्यसअघि कात्तिक १३ गते तय भएको सुनुवाइ जोशी पक्षले निवेदन दिएपछि रोकिएको थियो । अझ अघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एकै प्रकृतिका भएका कारण एउटै सुनुवाइमा राख्न आदेश गरेको थियो ।

लामिछानेले बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न अनुमति मागेका थिए । सोही अनुरूप अदालतले उनको मागसँगै जोशीको फाइल पनि पेश गर्न आदेश दिएको थियो ।

Share News