बैंकमा काम गर्ने महिलाको सुन र नगद लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।     

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।     

पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय बिशाल राई, नुवाकोटको १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समिर तामाङ रहेका छन् । उनीहरुले गत मङ्सिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ ।     

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैंकका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।     

उनीहरुले मोटरसाइकलबाट आएर लुटपाट गरी भागेका थिए । पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाँबीको झुप्पो लगायतका सामानसहित १२ दशमलव ६३० ग्राम सुनको झुम्का, ७ दशमलव ८ लालको सुनको टप, दुई हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ ।     

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

Share News