काठमाडौं । हङकङको एक आवासीय कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ भने करिब ३०० जना बेपत्ता भएका छन् ।
मर्मतसम्भारको काममा प्रयोग गरिएको असुरक्षित बाँसको स्काफोल्डिङ र फोम पदार्थका कारण झनै फैलिएको हुनसक्ने प्रहरीको भनाइ छ ।
बुधबार दिउँसो लागेको आगोको अत्यधिक तापक्रम र बाक्लो धुवाँका कारण वाङ फुक कोर्ट आवासीय परिसरको माथिल्ला तल्लामा फसेका मानिससम्म पुग्न दमकलकर्मीहरू रातभर संघर्षरत थिए ।
उत्तरी ताई पो जिल्लामा रहेको यो बाक्लो बसोबास भएको परिसरमा ८ वटा ब्लकमा २ हजार फ्ल्याट छन्, जहाँ ४ हजार ६०० भन्दा बढी मानिस बस्छन् । हङकङमा किफायती आवासको पुरानो समस्या चलिरहेको अवस्थामा यो गम्भीर दुर्घटना भएको हो ।
बिहीबार बिहानसम्म अधिकारीहरूले ४ वटा ब्लकमा आगो नियन्त्रणमा आएको बताएका छन् भने बाँकी ३ वटामा काम जारी छ ।
घटनास्थलका भिडियोहरूमा ३२ तले दुईवटा टावरमा बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको ठाउँबाट अझै आगोका ज्वाला निस्किरहेको देखिन्थ्यो र बाक्लो धुवाँ आकाशमा उडिरहेको थियो ।
प्रहरीको भनाइ अनुसार सुरक्षामापदण्ड नपुगेका प्लास्टिक र मेस सिटले भवन ढाकिएको थियो । साथै मर्मत कार्य गरिरहेको निर्माण कम्पनीले एउटा ब्लकका केही झ्यालहरू फोम पदार्थले बन्द गरेको पाइयो ।
‘हामीसँग यो दुर्घटना निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूको गम्भीर लापरबाहीका कारण भएको भन्ने ठोस कारण छ, जसले आगो नियन्त्रण बाहिर फैलियो र विशाल जनहानि भयो,’ हङकङ प्रहरीकी सुपरिन्टेन्डेन्ट आइलीन चुंगले भनिन् ।
निर्माण कम्पनीका दुई निर्देशक र एक इन्जिनियरिङ सल्लाहकारलाई आगलागीसम्बन्धी ‘हत्या जस्तै अपराध’ को आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाँसको स्काफोल्डिङ र हरियो कन्स्ट्रक्सन मेस परम्परागत चिनियाँ निर्माणमा प्रचलित भए पनि सुरक्षा कारण हङकङमा यसलाई यो वर्ष मार्चदेखि क्रमशः हटाइँदै आएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये एक दमकलकर्मी पनि छन् । ४५ जना अस्पतालमा गम्भीर अवस्थामा छन् ।
हङकङका प्रमुख कार्यकारी जोन लीले भने, ‘पहिलो प्राथमिकता आगो निभाउने र फसेका बासिन्दालाई बचाउने हो । दोस्रो– घाइतेको उपचार । तेस्रो– प्रभावित परिवारलाई सहयोग । त्यसपछि पूर्ण छानबिन सुरु हुनेछ।’
करिब २७९ जना बेपत्ता छन् र ९०० जना आठवटा अस्थायी आश्रयमा बसेका छन् ।
यो मृत्यु संख्या १९४८ पछि हङकङमा आगलागीबाट भएको सबैभन्दा ठूलो जनहानि हो, जब एक गोदाममा आगलागी हुँदा १७६ जनाको मृत्यु भएको थियो ।
यो आगलागीलाई २०१७ मा लन्डनको ग्रेनफेल टावरको आगलागीसँग तुलना गरिएको छ, जहाँ ७२ जनाको मृत्यु भएको थियो । त्यो दुर्घटना भवनमा ज्वलनशील बाहिरी प्यानल प्रयोग गरिएको कारण भएको ठहर गरिएको थियो ।
ग्रेनफेल युनाइटेड समूहले लेखेको छ— ‘हङकङका पीडित सबैप्रति हाम्रो हार्दिक संवेदना । तपाईंहरू एक्लो हुनुहुन्न ।’
धेरै बासिन्दाहरूले सोशल मिडियामा लापरबाही र लागत कटौतीका कारण आगो लागेको दाबी गरेका छन् । एक भिडियोमा मर्मत कार्य गर्दै रहेका मजदूरहरू स्काफोल्डिङमाथि चुरोट सेवन गरिरहेको देखिन्थ्यो ।
चीनका राष्ट्रपति सी जिनपिङले मुख्यभूमिबाट ‘पूर्ण प्रयास गरेर आगो निभाउन र मानवीय क्षति कम गर्न’ निर्देशन दिएको चिनियाँ राज्य प्रसारक सिसिटिभीले जनाएको छ ।
हङकङको यातायात विभागले बिहीबार बिहान क्षेत्रका केही सडक बन्द हुने र ३९ वटा बस रुटहरू परिवर्तन गरिएको बतायो ।
कम्तीमा ६ विद्यालय बिहीबारका लागि बन्द गरिएको छ ।
बुधबार आगो लागिरहेका ब्लकहरूबाट स्काफोल्डिङका फ्रेम तल खसिरहेका देखिन्थे, र सयौं दमकल र एम्बुलेन्सहरू परिसर बाहिर लाइन लागेका थिए ।
हङकङ सरकारले २०१९–२०२४ बीच बाँस स्काफोल्डिङसँग सम्बन्धित २२ जनाको मृत्यु भएको कारण मार्चदेखि क्रमिक रूपमा बाँस स्काफोल्डिङ हटाउने घोषणा गरेको थियो । भविष्यमा ५० प्रतिशत सार्वजनिक निर्माणकाममा धातुको फ्रेम अनिवार्य गरिएको छ ।
यद्यपि बाँस स्काफोल्डिङ हटाउने निर्णय आगलागी जोखिमका कारण नभए पनि यस वर्ष कम्तीमा ३ वटा आगलागी बाँस स्काफोल्डिङसम्बन्धी भएको, औद्योगिक दुर्घटना पीडित अधिकार समूहले जनाएको छ ।
हङकङको अत्यधिक मूल्यवान आवास प्रणाली धेरै वर्षदेखि सामाजिक असन्तुष्टिको मुख्य कारण बनेको छ । यो दुर्घटनाले आगामी डिसेम्बरमा हुने विधान परिषद् चुनावअघि जनआक्रोश झनै बढाउन सक्छ ।
वाङ फुक कोर्ट हङकङका धेरै उच्चतले सरकारी आवासहरूमध्ये एक हो । ताई पो ३ लाख मानिस बसोबास गर्ने घना क्षेत्र हो ।
१९८३ देखि आबाद यो परिसर सरकारी अनुदानमा चलने घरस्वामित्व योजनाअन्तर्गत पर्ने बताइन्छ । अनलाइन विवरणअनुसार कम्प्लेक्समा ३३० करोड हङकङ डलर (४२.४३ मिलियन डलर) को लागतमा एक वर्षदेखि मर्मत भइरहेको थियो, जहाँ प्रत्येक युनिटले १.६ देखि १.८ लाख हङकङ डलर तिरेका छन् ।
(सीएनबीसीबाट अनूदित तथा सम्पादित)