काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । लगातार तीन खेलमा जित दर्ता गरेको विराटनगर किंग्स बुधबार चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो ।
विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो । चितवनको यो तीन खेलमा दोस्रो जित हो । यस टिमले लुम्बिनी लायन्सँग हार र कर्णाली याक्ससँग जित निकालेको थियो ।
ब्याटिङ र बलिङ दुवैमा लय समात्दा चितवनले आजको जित निकालेको हो । चितवनका रवि बोपाराले यस खेलमा ६५ रन जोडे । ३८ बल खेल्दा उनले ३ चौका र ४ छक्का प्रहार गरे । उनले ब्याटिङ उकास्दा चितवन १७५ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।
चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० र डविड मलानले १७ जोडे । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरमाथि चितवनका बलर हाबी भए । चितवनका रञ्जित कुमारले पाँच विकेट लिए । उनले विराटनगरका साम हिजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका हुन् ।
प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो ।