काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धिप्रति खेद व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य परीक्षणवापत लाग्ने सम्पूर्ण शुल्क पूर्ण रूपमा श्रमिकले नै बेहोर्ने गरी लागू गरिएको व्यवस्था तत्काल फिर्ता गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘फ्री भिषा, फ्री टिकट लागू हुन नसकेको अवस्थामा सरकारले मारमा पार्ने गरी शुल्क मात्रै बढाएर व्यापारलाई प्रश्रय दिए जस्तो देखियो, यो स्वाभाविक होइन ।’
२०८१ भाद्रमा तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले वैदेशिक रोजगारीमा श्रमिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने र शुल्क बीमाले नै बेहोर्ने गरी व्यवस्था गर्न सुझाव दिइएको थियो ।
अघिल्लो मन्त्रीस्तरीय निर्णयले कार्यान्वयन हुन रोकेको विषय अहिलेको सरकारले कार्यन्वन गरेकोमा पौडेलको आपत्ति छ ।
‘सबै श्रमिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरेर स्वास्थ्य परीक्षण शुल्क त्यसैबाट बेहोर्ने गरियोस्,’ उनी भन्छन्, ‘वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै उपचार खर्च रोजगारदाताबाटै भराउने नीति लागू हुने गरि श्रम सम्झौता गरियोस् म सरकारसँग सोही व्यवस्था लागू गरेर श्रमिकलाई थप भार पार्ने हालैको व्यवस्था खारेज गर्न जोडदार माग गर्दछु ।’