एड्भेन्चर सेग्मेन्टमा प्रतिस्पर्धा बढाउने सुजुकी भी–स्ट्रोम २५० का दुई नयाँ रङ बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सको दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ । बुधबार सुजुकीले सेतो र नीलो रङका नयाँ मोडलहरू सार्वजनिक गरेको हो । यसको सुरुवाती मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यो मोटरसाइकल २४९.९९ सीसी इन्जिन क्षमताको जापानी प्रविधिमा आधारित रहेको छ । भी–स्ट्रोम २५० एड्भेन्चर र सिटी राइड दुवैका लागि उपयुक्त मानिन्छ । नयाँ दुई रङसहित अब यो मोटरसाइकल बजारमा सेतो, नीलो, पहेँलो र कालो–रातो कम्बिनेसन गरी कुल ४ चार रङ विकल्पमा उपलब्ध हुने सुजुकी नेपालले बताएको छ । 

null

सुजुकी भी–स्ट्रोम २५० मा सुजुकी ओइल कुलिङ सिस्टम इन्जिन जडान गरिएको छ ।  सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले सन् १९९२ मा सुजुकीले नै मोटरसाइकलमा तेल कुलिङ प्रविधिको आविष्कार गरेको बताए । 

null

पारस जैन 

उनले विकास न्युजसँग भने, ‘यो प्रविधिले इन्जिनलाई अत्यधिक तापक्रममा समेत चिसो राखी उत्कृष्ट कार्यक्षमता प्रदान गर्छ । यसले पानी कुलिङभन्दा कम वजन, कम मर्मत खर्च र तीव्र तापक्रम व्यवस्थापनजस्ता फाइदाहरू प्रदान गर्छ ।’

उनका अनुसार बाइकको बीएचपी २६.५ छ । यसको टप स्पिड १४० देखि १५० किलोमिटर प्रतिघण्टासम्म रहेको दाबी गरिएको छ । जैनले सामान्य रूपमा ४८ देखि ५० किलोमिटरसम्म र हार्श ड्राइभिङमा पनि ३५ किलोमिटर माइलेज दिने जानकारी दिए । 

null

यसको कर्भ वेट १६७ केजी मात्र छ । जुन यस सेगमेन्टका धेरै बाइकभन्दा हलुका हो । यसमा विन्ड सिल्ड, नकल गार्ड र एलइडी हेडलाइट जस्ता सुविधाहरू पनि समावेश छन् । भी–स्ट्रोम ६५०, ८५०, र १०५० सीसीका सुपरबाइकहरूको सानो संस्करणको रूपमा २५० सीसीको यो मोडल बजारमा ल्याइएको कम्पनीले जनाएको छ। 

जैनका अनुसार नेपालका सडकका लागि एड्भेन्चर बाइक एक कम्प्लिट प्याकेज हो । यसलाई हाइवेमा चलाउँदा आरामदायी छ भने खराब सडक, ग्राभेल, हिलो वा पानीमा चलाउँदा पनि कुनै समस्या नआउने उनले बताए । 

नयाँ भी–स्ट्रोम २५० का सुरुमा टेष्ट गर्ने प्रयोगकर्ताहरूले यसको प्रशंसा गरेका छन् । डा. प्रसन्न खड्का जसले तीन दिनमा ६०० किलोमिटर यात्रा गरिसकेका छन् । उनले यसको इन्जिन बट्री स्मूथ र रेस्पोन्सिभ भएको बताए।

सस्पेन्सन अलि सुधार गर्न सकिने भए पनि उनले ४८.४ किलोमिटर प्रति लिटरको माइलेज पाउनु सुखद भएको बताए । लामो दूरीको यात्रामा पनि कम्मर वा हातमा कुनै दुखाइ नभएको भन्दै उनले यसलाई बबाल बाइकको संज्ञा दिए । 

null

सिटको उचाइ र आरामदायीपन राम्रो भएको र यसलाई एक्स्ट्रिम र एड्भेन्चर किट प्रयोग गरी पूर्ण अफ–रोडर बनाउन सकिने सुविधा पनि रहेको उनले औंल्याए । विगत ७ सात वर्षदेखि सुजुकीको बाइक चलाइरहेका डा. प्रसन्नले सर्भिस खर्च पनि निकै कम भएको बताए । 

त्यस्तै, चितवनका उमेश राईले पनि आफ्नो तीन दिनको अनुभवमा बाइक निकै कम्फर्टेबल र पावरफुल पाएको बताए । यामाहा भी २ चलाइरहेका उनले भी–स्ट्रोम २५० आफूलाई निकै राम्रो लागेको र यसमा कुनै शंका नरहेको बताए । 

उनले लामो ड्राइभ नगरे पनि हाइवेमा चलाउँदा अहिलेसम्म सबै कुरा ठीक लागेको अनुभव सुनाए । तिहार अगाडि नै लिने योजना बनाए पनि सर्टेजका कारण २/३ महिना कुर्नुपरेको उनले बताए ।

सुजुकी भी–स्ट्रोम २५० को टेस्ट ड्राइभका लागि काठमाडौंमा टेकु, ग्वार्को भक्तपुर र बसुन्धारामा रहेका सुजुकीका आधिकारिक आउटलेटहरूमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालभरिका अन्य आधिकारिक सुजुकी सोरुमहरूमा पनि टेस्ट ड्राइभको सुविधा उपलब्ध रहेको छ।

Share News