कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला बुधवार (आज) अपरान्ह १ बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

आजको भेलामा कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम नराखिएको बताइएको छ । 

तर विशेष महाधिवेशनका पक्षधरहरूबीच छलफल, धारणा र रणनीति साझा गर्ने उद्देश्यले केही नेता तथा विश्लेषकहरूलाई भने बोलाइएको नेताहरूले बताएका छन् ।

असोज २९ गते कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । 

तर हस्ताक्षर सनाखत लगायतका आन्तरिक प्रक्रिया अघि नबढेको र नियमित महाधिवेशनको कार्यतालिका पनि सार्वजानिक नहुँदा प्रतिनिधिहरू असन्तुष्ट भएका छन् । 

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्ने–नगर्ने विषयमा पार्टीभित्रै मतभेद देखिएको छ । यही परिस्थितिमा विशेष महाधिवेशन अझै पनि अपरिहार्य रहेको भन्दै आजको भेलामार्फत केन्द्रीय समितिमाथि दबाब बढाउने तयारी प्रतिनिधिहरूको रहेको छ । 

हस्ताक्षर अभियानमा सक्रिय नेता जगदीशनरसिंह केसीका अनुसार पूर्वसभामुख तारानाथ रानाभाट, नेता नरहरि आचार्य, महेश आचार्य, बलदेव शर्मा लगायतले भेलामा सम्बोधन गर्नेछन् । यस्तै राजनीतिक विश्लेषकहरू हरि शर्मा, कृष्ण खनाल र अरुण सुवेदीलाई पनि कार्यक्रमका वक्ता सूचीमा राखिएको छ ।

यो पनि पढ्नूहोस् :

हल्ला धेरै र प्रक्रिया शून्यको ‘विशेष महाधिवेशन’

Share News