गैरकानुनी हड्ताल बन्द गरी काममा फर्कन त्रिवेणी स्पिनिङ मिल्सको श्रमिकलाई आह्वान

काठमाडौं । त्रिवेणी स्पिनिङ मिल्सले श्रमिकहरूलाई काममा फर्कन आह्वान गरेको छ । गैरकानुनी हड्ताल बन्द गरी तत्काल काममा फर्कन सम्पूर्ण श्रमिकहरूलाई मिल्सले आह्वान गरेको हो ।

औद्योगिक शान्ति खलबल्याउने ज्यान मार्ने उद्योगजस्ता गम्भीर फौजदारी कसुर गर्ने केही व्यक्तिहरूको स्वार्थको कारणले गैरकानुनी रूपमा उद्योग सञ्चालन नहुँदा नोक्सान अझ बढेको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । साथै, त्यसको असर कम्पनीलाई मात्र नपरी श्रमिकहरूलाई पनि पर्ने र कम्पनीलाई रोजगारी कटौती गर्नुपर्ने बाध्यता हुने भएकाले त्यस्तो परिणाम आउन नदिन गैरकानुनी हड्ताल बन्द गरी तत्काल काममा फर्कन कम्पनीले अनुरोध गरेको छ ।

मुनाफा आर्जन गरेको बेलामा श्रमिकहरूलाई श्रम ऐनअनुसार दिनुपर्ने मात्र नभई ऐनले परिकल्पना नै नगरेका विभिन्न सुविधाहरू समेत दिएको कम्पनीले दाबी गरेको छ । निर्यात मूलक उद्योग भएकोले कोभिड-१९ को असर, विभिन्न समयका गैरकानुनी हड्तालको कारणले उत्पादन र आपूर्तिमा अनिश्चितता भएकोले कम्पनीका उत्पादनले बजार गुमाउनु आदि कारणले नोक्सानीमा रहेको कम्पनीले जनाएको छ । 

यस्तो परिस्थितिमा पनि श्रमिकहरूको हितलाई केन्द्रमा राखेर घाटा सहेर नै भए पनि श्रमिक कटौती नगरी रोजगारीलाई निरन्तरता दिई कानूनअनुसार पारिश्रमिक तथा सबै सुविधाहरू दिइरहेको कम्पनीको दाबी छ । कम्पनी नोक्सानीमा रहेको बेलामा ट्रेड युनियनले पूरा गर्न नसकिने मागहरू राखी उत्पन्न विवाद मध्यस्थ समक्ष विचाराधीन रहेको छ । 

विवाद मध्यस्थ समक्ष रहेको समयमा गत असोज २३ गतेदेखि अचानक गरेको हड्ताललाई श्रम विभागले गैरकानुनी गरिसकेको कम्पनीले जनाएको छ । साथै, गैरकानुनी रूपमा बन्द गरिएको उद्योग सञ्चालन गर्न कम्पनीमा क्रियाशील रहेका श्रमिकहरूका ३ वटा संगठनहरुले श्रम कार्यालयमा उद्योग सञ्चालन गरि पाऊँ भनी दिएको निवेदन कम्पनीमा प्राप्त भएको र कम्पनीले कानुनसम्मत रूपमा उद्योग सञ्चालन गर्न तयार रहेको जनाएको छ । 

null

Share News