‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय

निर्णायक समितिका संयोजक कृष्णहरि बास्कोटा । फाइल तस्बिर ।

काठमाडौं । विकास मिडियाले खुला गरेको ‘विकास नायक, २०८२’ को मनोनयनको समय मंसिर १८ गतेसम्मका लागि थप गरिएको छ ।

विकास मिडियाद्वारा सञ्चालित विकासन्युज र देश विकास पत्रिकाले आयोजना गर्ने ‘विकास नायक, २०८२’ को मनोनयन गर्ने समय थप गरिएको हो । 

मंसिर ८ गते बसेको ‘विकास नायक, २०८२’ निर्णायक समितिको बैठकले बृहत सहभागितालाई प्रोत्साहित गर्दै मनोनयन गर्ने समय थप गर्ने निर्णय गरेको हो । 

समितिका संयोजक कृष्णहरि बास्कोटाले विभिन्न क्षेत्रलाई समेट्ने लक्ष्यका साथ मनोनयन समयावधि थप्ने निर्णय भएको जानकारी दिए । समितिले विकास नायक छनोटका आधार र मापदण्ड सम्बन्धी विभिन्न निर्णय गरेको छ । 

समितिले राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गर्नेबाट एक जना, उद्योग स्थापन सञ्चालन मार्फत बजार र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गर्ने एक जना, श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गर्नेबाट एक जना विकास नायक घोषणा गर्ने गरी क्षेत्र विभाजन गरेको छ । 

यस्तै, कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण उत्पादनको बिक्री प्रबन्ध गरी कृषकको जीवनस्तर सुधारमा टेवा दिनेबाट एक जना, जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी प्रवर्द्धन गरेर जनतालाई लाभ पुर्याउनेबाट एक जना, शिक्षा, स्वास्थ्य र पर्यटन सेवा विकासमा महत्त्वपूर्ण योगदान गर्नेबाट एक जनालाई विकास नायक घोषणा गर्ने निर्णय गरेको छ । 

त्यस्तै, बैक, बीमा लगायत वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गर्नेबाट एक जना, नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गर्नेबाट एक जनालाई विकास नायक घोषणा गर्ने निर्णय गरेको छ । 

समितिले खेलकुद, भाषा, साहित्य, कला, मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाउने र पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने पेशाकर्मीबाट एक/एक जना गरी कुल १० जनालाई विकास नायक घोषणा गरी सम्मान गर्ने निर्णय गरेको छ । 

बास्कोटाको संयोजकत्वमा गठित विकास नायक २०८२ को निर्णायक समितिको सदस्यमा प्राध्यापक डा. कुशुम शाक्य, वरिष्ठ पत्रकार शिव गाउँले, उद्यमी निरञ्जन श्रेष्ठ रहेका छन् भने विकासन्युजका सम्पादक सन्तोष रोकाया सदस्य सचिव छन् । 

संयोजक बास्कोटा सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्वअर्थसचिव हुन् । उनी नीति अनुसन्धान तथा प्रशासन सुधारका क्षेत्रमा निरन्तर सक्रिय छन् । प्रा.डा. शाक्य त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको पूर्वडिन तथा अर्थशास्त्र विभागकी प्रमुख हुन् । उनी अहिले नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञ सदस्यका रूपमा क्रियाशील छिन् ।

गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले खोज पत्रकारिता केन्द्र, अनलाइन खबर र हिमाल खबर लगायत सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरिसकेका छन् । यस्तै, श्रेष्ठ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । उनी नेपाली युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष समेत हुन् । 

विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

Share News