पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गर्दा १० बालबालिका र महिलाको मृत्यु : अफगान तालिबान

अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबार र मंगलबार राति धेरै हवाई हमला भएको दावी गरेका छन् । फाइल तस्बिर ।

काठमाडौं । तालिबान सरकारका प्रवक्ताले अफगानिस्तानको खोस्त प्रान्तमा पाकिस्तानले एक घरमाथि बमबारी गरेको आरोप लगाएका छन् । जुन घटनामा परी १० बालबालिका र महिलाको मृत्यु भएको छ ।

तालिबानको अन्तरिम सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ‘एक्स’ मा जारी गरेको बयानमा बताएका अनुसार सोमबार र मंगलबारको मध्यरात (करिब १२ बजे) खोस्त प्रान्तको गरबुज जिल्लामा एक ठूलो विस्फोट भएको थियो ।

बीबीसी उर्दूका अनुसार मुजाहिदले उक्त विस्फोटमा नौ बालबालिका र एक महिला मारिएको दाबी गरेका छन् । उनले मारिएका बालबालिकाहरूको तस्बिर समेत सार्वजनिक गरेका छन् ।

उनले दाबी गरेका छन् कि कुनार र पक्तिया क्षेत्रमा पनि हवाई हमला भएको छ, जसमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएका छन् ।

कुनार प्रान्तका स्थानीयले बीबीसी पश्तोलाई दिएको जानकारीअनुसार उनीहरूले गएराति अबेर मारवारा, असदाबाद र शेलिटन क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनेका थिए ।

यो पहिलो पटक होइन कि अफगानिस्तानले पाकिस्तानी सेनामाथि आफ्नै भित्री क्षेत्रमा हवाई हमला गरेको आरोप लगाएको हो । गत महिनाको सुरुतिर पनि अफगानिस्तानले पाकिस्तानले राजधानी काबुलसहित विभिन्न ठाउँमा हवाई हमला गरेको आरोप लगाएको थियो ।

पाकिस्तानले भने अहिलेसम्म अफगान सरकारका प्रवक्ताले लगाएको आरोपप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

अघिल्लो वर्षहरूमा पाकिस्तानले काबुलका ती आरोपहरू अस्वीकार गर्दै आएको छ, जसमा पाकिस्तानी सेना अफगानिस्तानका विभिन्न स्थानहरूमा हमला गरिएको बताइन्थ्यो ।

यद्यपि, गत महिना पाकिस्तानले अफगानिस्तानभित्र केही सीमावर्ती क्षेत्रमा चरमपन्थीका ठेगानाहरूलाई निशाना बनाएको कुरा स्वीकार गरेको थियो ।

तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का गतिविधिका कारण दुवै देशबीच तनावपूर्ण अवस्था कायम छ ।

Share News