पर्यटन क्षेत्रमा डिजिटल क्रान्ति : एनएमबि बैंकको स्मार्टफोन पीओएस सेवा सुरु

काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग हातेमालो गर्दै पर्यटन क्षेत्रमा अत्याधुनिक डिजिटल भुक्तानी प्रविधि ‘एनएमबि सफ्ट पीओएस’ विस्तार गर्न सम्झौता गरेको छ ।

अब पर्यटन व्यवसायीहरूले कुनै भौतिक पीओएस मेसिनबिना नै आफ्नै एनएफसी( इनेबल्ड एन्ड्रोइड स्मार्टफोनमार्फत कार्ड पेमेन्ट स्वीकार गर्न सक्नेछन् । 

नयाँ ‘सफ्ट पी‌ओएस’ प्रविधिले होटल, ट्राभल एजेन्सी, एयरलाइन्सदेखि पर्यटनसम्बन्धी अन्य सेवाहरूमा द्रुत, सुरक्षित र झन्झटमुक्त भुक्तानी प्रणाली उपलब्ध गराउने बैंकले जनाएको छ ।

पाटा नेपाल च्याप्टर पर्यटन क्षेत्रका होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत सरोकारवालाहरूको प्रमुख प्रतिनिधि संस्था हो । यस सहकार्यले पाटाका सदस्यहरूलाई प्रविधिमैत्री बनाउने, डिजिटल कारोबार बढाउने र ग्राहक–पर्यटकलाई अझ सहज अनुभव दिने लक्ष्य लिएको छ ।

यसले भुक्तानी प्रक्रिया छिटो र सुरक्षित बनाउने, पर्यटकलाई झन्झटबिनाको डिजिटल पेमेन्ट सुविधा दिने, सम्पूर्ण क्षेत्रमा डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने जनाइएको छ ।

एनएमबि बैंकका अनुसार सफ्ट पीओएस प्रविधिको विस्तारले देशभर डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँच र पर्यटन क्षेत्रको आधुनिकिकरणमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।

हाल एनएमबि बैंकले २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

Share News