काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोनमा कुरा गरेका छन् । एक ह्वाइट हाउस अधिकारीले सीएनबीसीलाई दिएको जानकारीअनुसार उक्त कुराकानीबारे केही विवरण भने खुलाइएको छैन ।
कुराकानी किन तय गरिएको हो वा कसले अनुरोध गरेको हो भन्ने पनि स्पष्ट गरिएको छैन ।
ह्वाइट हाउसले छलफलको विषयवस्तु खोलेन तर ट्रम्पले सोमबार पछि ट्रुथ सोसियलमा पोस्ट गर्दै उक्त फोनवार्ताको पुष्टि गरेका थिए ।
‘हामीले युक्रेनररुस, फेन्टानाइल, सोयाबिन तथा अन्य कृषि उत्पादनलगायत धेरै विषयमा छलफल गर्यौं । हामीले हाम्रा महान किसानहरूका लागि निकै महत्त्वपूर्ण र राम्रो सम्झौता गरेका छौं र यो अझ सुधार हुँदै जान्छ । हाम्रो चीनसँगको सम्बन्ध अत्यन्तै बलियो छ,’ उनले लेखेका छन् ।
ट्रम्पका अनुसार दुबै नेताहरूले पारस्परिक प्रत्यक्ष भेटघाट गर्ने पनि सहमति जनाएका छन् । पहिलो भेट अप्रिलमा बीजिङमा हुनेछ र अर्को राज्य भ्रमण यसै वर्ष अमेरिकामा हुनेछ ।
‘हामीले नियमित रूपमा संवाद कायम राख्नु अत्यन्तै आवश्यक छ भन्ने सहमति पनि जनायौं,’ ट्रम्पले लेखेका छन् ।
यसअघि चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दक्षिण कोरियाको बुसानमा गत महिना भएको भेटपछि दुबै पक्षले ‘सहमति भएका सबै बुँदाहरू कार्यान्वयन गरिरहेको’ उल्लेख गरिएको थियो ।
उक्त सहमतिमा अमेरिकाले चिनियाँ सामानहरूमा गरिएका केही भन्सार महसुल कम गर्ने र चीनले दुर्लभ खनिजमाथि लगाइने नयाँ निर्यात प्रतिबन्ध स्थगित गर्ने निर्णयसमेत समावेश थियो, जसले दुवै देशबीच जारी व्यापार तनावलाई केही कम गरेको छ ।
यता चीनले ‘बुसान बैठकयता चीन–अमेरिका सम्बन्ध सामान्य रूपमा स्थिर र सकारात्मक दिशामा अघि बढिरहेको’ जनाएको छ ।
ट्रम्प र सीबीच युक्रेनबारे पनि छलफल भएको थियो । युक्रेनलाई थ्याङ्क्स गिभिङअघि अमेरिकी प्रशासनले प्रस्ताव गरेको शान्ति योजनामा सहमत गराउने प्रयास भइरहेको छ ।
त्यस्तै, जिनपिङले ताइवान ‘चीनमा फर्किनुपर्ने’ आफ्नो देशको स्थायी धारणा पनि दोहोर्याए ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार ट्रम्पले ‘अमेरिका चीनका लागि ताइवान मुद्दाको महत्त्व राम्रोसँग बुझ्दछ’ भनेका थिए ।
ट्रम्पले सी जिनपिङलाई ‘महान नेता’ पनि भनेको मन्त्रालयको भनाइ छ ।