अमेरिकी सरकारका लागि अमेजनले एआई पूर्वाधारमा ५० अर्ब डलर लगानी गर्ने

परियोजना २०२६ मा सुरु हुने

काठमाडौं । अमेजनले अमेरिकी सरकारका लागि कृत्रिम बौद्धिकता (एआई) तथा उच्च क्षमता कम्प्युटिङ सेवा विस्तार गर्न ५० अर्ब डलरसम्म लगानी गर्ने भएको छ । 

कम्पनीले सोमबार आफ्नो क्लाउड सेवा (एडब्ल्यूएस) का अमेरिकी सरकारी ग्राहकहरूका लागि यस्तो घोषणा गरेको हो ।

यो परियोजना २०२६ मा सुरु हुनेछ र संघीय एजेन्सीहरूका लागि विशेषरूपमा डिजाइन गरिएका नयाँ डेटा सेन्टरमार्फत १.३ गिगावाट क्षमताको पूर्वाधार थपिनेछ ।

उक्त लगानीपछि एजेन्सीहरूले एडब्ल्यूएसका एआई उपकरणहरू, एन्थ्रोपिकको क्लाउडी मोडेलहरू, एनभीडीया चिपहरू तथा अमेजनकै ट्रेनियम एआई चिपहरूको प्रयोग गर्न सक्नेछन् ।

यसअघि एन्थ्रोपिक, मेटा, ओराकल, ओपनएआई, सफ्टबैंकलगायत कम्पनीहरूले पनि अमेरिकी भूमिमा विशाल एआई पूर्वाधार विस्तार गर्ने योजनाहरू घोषणा गरिसकेका छन् ।

यो क्रममै स्टारगेट नामक संयुक्त परियोजनाले अर्का ५०० अर्ब डलरसम्म अमेरिका भित्रै एआई पूर्वाधारमा लगानी गर्ने लक्ष्य लिएको छ ।

एडब्ल्यूएसका अनुसार नयाँ परियोजनाले एजेन्सीहरूले कस्टम एआई समाधान विकास, डेटासेट अनुकूलन, तथा कार्यदलको उत्पादकता वृद्धि गर्न मद्दत पुर्याउनेछ।

अमेजनका अनुसार एडब्ल्यूएसले हाल ११ हजारभन्दा बढी अमेरिकी सरकारी निकायहरूलाई सेवा दिइरहेको छ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) म्याट गार्मनले भने, ‘यस लगानीले सरकारले सामना गर्दै आएको प्रविधिगत अवरोध हटाउनेछ र एआई युगमा अमेरिकालाई अग्रणी बनाउनेछ ।’

एआई सेवाका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको प्रतिस्पर्धामा अघिल्ला वर्षहरूमा टेक कम्पनीहरूले अर्बौं डलर छुट्याइरहेका छन् ।

अमेजनले पनि अक्टोबरमा २०२५ को लागि आफ्नो पूँजी खर्च अनुमान ११८ अर्बबाट बढाएर १२५ अर्ब डलर पुर्याएको थियो ।

फेसबुक–इन्स्टाग्राम मानसिक स्वास्थ्यका लागि हानिकारक ? मेटाले रोक्यो आफ्नै अनुसन्धान

१ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा

Share News