नेपाल रेमिटर्स एसोसिएसन र मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच साझेदारी

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनले मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग औपचारिक साझेदारी गरेको छ ।  नेपाल रेमिटर्सले यस कदमलाई ‘ऐतिहासिक’ भन्दै एक महत्वपूर्ण कदमका रूपमा औंल्याएको छ । 

दुवै संघबीच केही चरणको छलफलपछि गरिएको सहकार्यले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ गर्ने, सहकार्य विस्तार गर्ने र दुवै देशका उद्योगको वृद्धि प्रोत्साहन गर्ने लक्ष्य राखेको नेपाल रेमिटर्सले जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहकार्य र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्नेछ ।'

साझेदारी घोषणा कार्यक्रममा मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसका अध्यक्ष जाजाखान बिन कादेर गनी र नेपाल रेमिटर्सका अध्यक्ष रितेश मित्तलले दुवै देशका रेमिटेन्स उद्योगले सामना गरिरहेका साझा चुनौतीबारे विचार–विमर्श गरेका थिए ।

दुवैले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवर्द्धन, डिजिटल रूपान्तरण, अवैध सञ्चालकका गतिविधि नियन्त्रण, तथा उपभोक्ता संरक्षणजस्ता विषयमा संयुक्त पहल आवश्यक भएको कुरा उल्लेख गरे ।

नेपाल रेमिटर्सका अध्यक्ष मित्तलका अनुसार यो सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत मात्र होइन, ज्ञान आदान–प्रदान र नवप्रवर्तनलाई पनि बल पुर्याउनेछ । उनका अनुसार अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपालीहरू र नेपालको समग्र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ दिनेछ ।

Share News