काठमाडौं । जेनजी प्रदर्शनको राजनीतिक परिवर्तनपछि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबार (आज)देखि प्रारम्भ हुन लागेको छ । पहिलो बैठक आज अपरान्ह १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो । त्यसको झन्डै दुई महिनापछि प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार पहिलो बैठकका लागि सम्भावित कार्यसूची तयार गरिएको छ । बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे विवरण र छैटौं अधिवेशनमा पारित र प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू समावेश रहेको जनाउ दिने कार्यक्रम रहेको बताइएको छ ।
यसअघि वर्षे अधिवेशनमा सरकारले पर्याप्त बिजनेस नदिएको भन्दै प्रदेशसभा सदस्यहरूले सरकारको आलोचना गरेका थिए । अहिलेका लागि केही तयारी भए पनि हिउँदे अधिवेशन सञ्चालनका लागि आवश्यक व्यवसाय पर्याप्त नभएको प्रदेशसभा स्रोतले बताएको छ ।
हिउँदे अधिवेशनको प्रारम्भसँगै प्रदेशसभा सचिवालयमा दुई संशोधन विधेयक दर्ता भइसकेका छन् । प्रदेशसभा सचिव थापाका अनुसार जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन ऐन, २०७५ संशोधन विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा ऐन, २०७६ संशोधन विधेयक दर्ता भएका विधेयक हुन् ।
यसबाहेक प्रदेश मन्त्रिपरिषद्ले तीन नयाँ विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको प्रदेश सरकारका प्रवक्ता कृषिमन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रवक्ता पन्थीका अनुसार लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन विधेयक र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक प्रस्तुत गर्न प्रदेश सरकारले स्वीकृति दिए ।
प्रदेशसभा सचिवालयका अनुसार लुम्बिनी प्रदेशको छैटौं अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । त्यसपछिको अवधिमा राजनीतिक फेरबदल र सरकारले तयारी अभावका कारण सातौं अधिवेशन ढिलाइ हुँदै आज मात्र सुरु हुन लागेको हो ।