काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग २०२५ को ओभर–द–टप (ओटीटी) प्रसारण अधिकारसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गर्दै अनधिकृत डिजिटल प्रसारणप्रति चेतावनी दिएको छ।
मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य सबै देशहरूमा ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्क लिमिटेड लाई प्रदान गरिएको क्यानले जनाएको छ । दर्शकले डिशहोम ‘गो’ नामक अनुप्रयोग (एप) डाउनलोड गरी सम्पूर्ण खेलहरू सोही प्लेटफर्ममार्फत हेर्न सक्नेछन् ।
क्यानका अनुसार नेपाल प्रिमियर लिगका सबै खेलहरूको डिजिटल तथा ओटीटी अधिकार डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) लाई मात्रै दिइएको छ। डिशहोम ‘गो’ बाहेक युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, टेलिग्राम वा कुनै पनि वेबसाइट तथा अनुप्रयोगबाट खेल प्रसारण गर्नु पूर्ण रूपमा अवैध हुनेछ ।
त्यसैले, खेलको अनधिकृत पुनःप्रसारण, बिक्री–वितरण, रेकर्डिङ, सम्पादन तथा अन्य किसिमले प्रयोग गर्न वा गराउन खोज्ने कार्य कानूनअनुसार दण्डनीय हुने क्यानले स्पष्ट पारेको छ ।
क्यान र डिशहोमले संयुक्त रूपमा सबै दर्शक, विज्ञापनदाता, सञ्चार माध्यम र सरोकारवालाहरूलाई केवल आधिकारिक प्लेटफर्म डिशहोम ‘गो’ मार्फत मात्र नेपाल प्रिमियर लिगका खेल हेर्न आग्रह गरेका छन् ।
साथै, अनधिकृत लिंक वा साइटमार्फत खेल हेर्न खोज्दा व्यक्तिगत तथा वित्तीय विवरण चोरी हुने जोखिम रहने हुँदा त्यस्ता अवैध माध्यम प्रयोग नगर्न र नगराउन समेत अनुरोध गरिएको छ ।
कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण भएको जानकारी प्राप्त भएमा क्यान वा डिशहोम लाई तुरुन्तै जानकारी गराउन अपिल गर्दै क्यानले प्रचलित कानूनी व्यवस्थाअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ ।