संस्थापन पक्षको अकर्मण्यता र निष्क्रियताले महाधिवेशनको सम्भावना समाप्त ​​​​​​​: नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पार्टीको संस्थापन पक्षको अकर्मण्यता र निष्क्रियताका कारण आगामी निर्वाचनअघि १५औं महाधिवेशन हुने सम्भावना समाप्त भएको टिप्पणी गरेका छन् । पार्टीभित्र संगठनात्मक प्रक्रिया अघि नबढेको र महाधिवेशन तयारीका लागि आवश्यक कदम समयमै नचालिएको कारण अब विशेष महाधिवेशन अपरिहार्य भएको उनको भनाइ छ। 

नेता केसीका अनुसार कार्यसम्पादन समितिदेखि पदाधिकारी तहसम्म नेतृत्वले जिम्मेवारी पूर्ण रूपमा भूमिका निर्वाह गर्न नसक्दा महाधिवेशनको तयारी पूर्ण रूपमा अवरुद्ध भएको छ । 

उनले भने, ‘नेतृत्वको ढिला सुस्ती र निष्क्रियताले अब निर्धारित समयमा महाधिवेशन हुनै सक्दैन। पार्टीलाई बाटोमा ल्याउन विशेष महाधिवेशन नै बाध्यकारी विकल्प बनेको छ।’

कांग्रेसले चुनावअघि महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेपनि आवश्यक तयारी नगरेको, समितिहरूले काम अगाडि नबढाएको र शीर्ष नेतृत्वले स्पष्ट निर्णय नदिएको उनले आरोप लगाए । 

केसीले विशेष महाधिवेशनले पार्टीलाई पुनः ऊर्जा दिने, विवाद समाधान गर्ने तथा आगामी निर्वाचनका लागि स्पष्ट रणनीति तय गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । 

उनका अनुसार वर्तमानको अनिर्णय र गतिरोध हटाइञ्जेल कांग्रेसको संगठनात्मक क्षमता कमजोर नै रहनेछ र चुनावी प्रतिस्पर्धामा प्रतिकूल असर पर्नेछ। कांग्रेसभित्र महाधिवेशनबारे छलफल जारी भए पनि अब विशेष महाधिवेशनको दिशा अपरिहार्य बन्दै गएको उनले स्पष्ट पारे ।

Share News