जेनजी आन्दोलनपछि रास्वपा संकटमा, काठमाडौं सभापति प्रदीप विष्टले पनि छोडे पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको असन्तुष्टि तीव्र बन्दै गएको छ । पछिल्ला केही महिनादेखि नेतृत्व शैलीप्रति प्रश्न उठाउँदै नेताहरूले पार्टी छाड्न थालेका छन् । 

यही क्रमसँगै रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पद तथा पार्टी दुवै त्यागेका छन् । उनले बागमती प्रदेश समितिमा औपचारिक रूपमा लिखित राजीनामा बुझाइसकेका छन् ।

राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समिति बैठक बोलाएर आफ्नो निर्णयबारे जानकारी गराएका थिए । 

बैठकमा उनले पार्टीभित्र पछिल्लो समय देखिएको निर्णय प्रक्रियाको शैली, नेतृत्वको एकाधिकारवादी प्रवृत्ति र आन्तरिक संवादको अभावले आफू निराश भएको खुलाउँदै राजीनामा दिएको स्रोतले बतायो ।

विष्ट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार बनेका थिए । पहिलो पटक चुनाव लडेका उनलाई ८ हजार ७३९ मत प्राप्त भएको थियो । 

पार्टीभित्र आधार विस्तार र संगठन सुदृढीकरणमा सक्रिय रहेका उनको अचानकको राजीनामाले काठमाडौं क्षेत्रमा रास्वपाको संरचनामा थप असर पर्ने एक  केन्द्रीय सदस्यले बताए ।

यद्यपि उनले आगामी राजनीतिक योजनाबारे खुलेर बोलेका छैनन् ।

कात्तिक २८ गते नेता सन्तोष परियारले रास्वपा परित्याग गरेका थिए । त्यसअघि सांसद सुमना श्रेष्ठले पनि पार्टी छोडेकी थिइन् । 

विष्टको राजीनामा रास्वपाभित्र व्यापक बहसको विषय बनेको ती केन्द्रीय सदस्यले बताए । 

Share News