युरो-६ कार्यान्वयन : पुराना मापदण्डका सवारी १५ मंसिरसम्म भन्सार पास गर्न नाडाको आग्रह

काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) सम्बन्धी व्यवस्थाका बारेमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सूचना सार्वजनिक गर्दै तोकिएको समयभित्र भन्सार प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले गत असार ९ गतेको नेपाल राजपत्रमार्फत युरो–६ मापदण्ड लागू गरिसकेको छ । सोको अनुगमन गर्दै अर्थ मन्त्रालयले गत असोज १० गते प्रकाशित राजपत्रमार्फत युरो–६ लागू हुनु अघि नै प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमै एसेम्बलरउत्पादन हुने सवारी साधनका लागि मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार सवारी साधन तथा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरिसकेको छ ।

नाडाका अनुसार उक्त प्रावधानअन्तर्गत तोकिएको म्यादभित्र आयात प्रक्रिया तथा भन्सार जाँचपास पूरा गर्न सबै आयातकर्ता तथा प्रभावित पक्षलाई अनुरोध गरिएको छ । नाडाले यस विषयमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग निरन्तर समन्वय र पत्राचार गर्दै आवश्यक पहल गरेको पनि जानकारी गराएको छ ।

Share News