बैंकको संस्थापक सेयर बिक्रीसम्बन्धी नीति पुनरावलोकन गर्दै राष्ट्र बैंक

लामो समय पर्खिनुपर्ने बाध्यता अन्त्य हुँदै

काठमाडौं । गत जेठ ३० गते पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राख्यो । बैंकको उक्त सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ११८.८८ रुपैयाँका दरले ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँमा खरिद गर्यो । हबिब बैंकलाई हिमालयनमा रहेको संस्थापक सेयर बिक्री गर्न करिब साढे ४ महिना समय लाग्यो ।

यसबीचमा हबिबले संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गर्यो । बैंक सञ्चालक समितिबाट स्वीकृत गरायो । र, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्यो । जसले गर्दा हबिबलाई आफ्नो सेयर बिक्री गर्न कम्तिमा साढे ४ महिना समय लाग्यो । यदि सहज रुपमा खरिदकर्ता भेटिएको थिएन भने हबिबलाई सेयर बिक्री गर्न अझै समय लाग्ने थियो ।

संस्थापक सेयर बिक्री गर्न हबिबलाई मात्रै यति धेरै समय लागेको होइन । अन्य बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले पनि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्नुपर्याे भने कम्तीमा ३ महिना लामो प्रक्रिया नै अपनाउनुपर्ने हुन्छ ।

ग्लोबल आइएमई बैंकका कम्पनी सचिव विष्णु बाँस्कोटाका अनुसार हाल कायम व्यवस्था बमोजिम संस्थापक सेयरधनीले सेयर बिक्री गर्न चाह्यो भने सेयर बिक्रीको सूचना निकालिदिन भन्दै बैंकमा अनुरोध गर्नुपर्छ । निवेदन दिएपछि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई राखेर ३५ दिने सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ ।

‘बिक्रीका लागि निवेदन आएपछि सुरुमा इच्छुक संस्थापक सेयरधनीले खरिदका लागि आवेदन दिनु होला भनेर ३५ दिने सूचना निकालिदिन्छ । यदि बिक्रीकर्ता सेयरधनी आफैले खरिदकर्ता खोजेको छ भने ३५ दिने सूचनाले काम गर्छ । यदि संस्थापक सेयरधनीले खरिद गर्ने इच्छा गरेनन् भने अन्य सर्वसाधारण लगानीकर्ताका लागि फेरि अर्काे ३५ दिने सूचना निकाल्नुपर्छ,’ उनले भने, ‘संस्थापक सेयरधनी हुनका लागि नेपाल राष्ट्र बैंकले निश्चित सीमा तोकेको छ । कालोसूचीमा नरहेको, कर तिरेको लगायत कागजातहरू पेस गरेपछि बैंकको सञ्चालक समितिले निर्णय गरेर बिक्री र खरिदकर्ताले आ-आफ्नो ब्रोकर कम्पनीमार्फत कारोबार गराउँछन् ।’ 

उनका अनुसार संस्थापक सेयर खरिदबिक्री प्रक्रिया लामो छ । दोस्रो बजारमा पब्लिक सेयर खरिदबिक्री भइरहेको जस्तो संस्थापक सेयर कारोबार नहुने गरेको उनले बताए । संस्थापक सेयर कारोबारका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, सम्बन्धित संस्थाको सञ्चालक समितिले स्वीकृति दिएको हुनुपर्ने लगायत झण्झटिलो प्रक्रिया रहेको उनको भनाइ छ । कानुनी व्यवस्थामा संशोधन गरेर सेयर कारोबारमा सहजीकरण गर्न आवश्यक रहेको उनले बताए ।

‘संस्थापक सेयरको मूल्य पनि कम हुन्छ र खरिद गर्ने मान्छे पनि कम हुन्छन् । खासमा एउटै संस्थाको संस्थापक र साधारण गरी दुई थरी सेयर नै नहुनुपर्ने हो । किनकी विदेशतिर सबै सेयर एउटै प्रकृतिको हुन्छ र पब्लिक सेयर सरह कारोबार भइरहेको हुन्छ । तर, हाम्रोमा पब्लिक र प्रमोटर भनेर दुई किसिमको सेयर छुट्याएको छ,’ उनले भने, ‘साथै संस्थापक खरिद बिक्री प्रक्रियामा नियामकले कडाइ गरेको छ ।’ 

उनका अनुसार यदि बिक्री र खरिदकर्ता आपसी सहमति गरेर आउँछन् भने ३५ दिने सूचना आवश्यक छैन । बिक्री र खरिदकर्ताबीच नेगोसियसन गरेको संस्थापक सेयर ७ दिन भित्रमा सम्पन्न हुने गरी कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए । अहिलेको व्यवस्था अनुसार एउटा संस्थापक सेयर बिक्रीका लागि कम्तिमा ३ महिना समय लाग्ने गरेको उनको भनाइ छ ।

‘कानुनले सेयरलाई चल सम्पत्ति भनेको छ । तर, चल सम्पत्ति सरह कारोबार हुन पाएको छैन । आफ्नै सम्पत्ति बिक्री गर्न झण्झट छ । त्यसैले सुन बिक्री गरे सेयर बिक्री प्रक्रिया पनि सहज हुनुपर्छ । फटाफट खरिदबिक्री हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

महालक्ष्मी विकास बैंकका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय संस्थापक सेयर र सर्वसाधारण सेयर गरी दुई थरी सेयर संरचना राखेर असमान व्यवहार गरिएको बताउँछन् । नीतिगत व्यवस्थामा परिवर्तन गरी एउटै किसिमको सेयर कायम गर्नुपर्ने उनको धारणा छ ।

‘प्रमोटर र पब्लिक सेयरका विषयमा बाफियाले एउटा भन्छ तर राष्ट्र बैंकले रोकेर राखेको छ । के अब सधैं थुनिराख्ने हो त । विभेद हुन दिनु भएन नि । बैंकिङमा लगानी गर्ने पनि एउटा नागरिक नै हो । कर तिरेर कमाएको पैसा बैंकमा लगानी गरेको हो । बैंकको जस्तो फिट एण्ड प्रपर टेस्ट अरू कुनै संस्थामा हुँदैन । वैध स्रोतबाट कमाएको लगानी बैंकमा गरिएको हो । यति पारदर्शी हुँदा पनि सहज रूपमा बाहिरिन दिनुपर्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदबिक्री प्रक्रियामा सहजीकरण गर्ने गरी काम भइरहेको बताउँछन् । संस्थापक सेयर बिक्री सम्बन्धित बैंकबाटै हुने गरी कानुनी व्यवस्था गर्न लागेको उनको भनाइ छ । 

‘सकेसम्म रिटेल कामहरू केन्द्रीय बैंकबाट नहोस् भन्ने छ । जसमध्ये सेयरको ट्रान्सफरको काम पनि हो । हामीले एउटा गाइडलाइन बनाएर बैंकको कम्पनी सचिवमार्फत गर्न सकिने कामहरू राष्ट्र बैंकमा आउन नपरोस् । राष्ट्र बैंकमा आएर फलानो सेयर ट्रान्सफर भयो, फलानोको सेयर ट्रान्सफर भएन भनेर गुनासो गरिरहेका छन्,’ उनले भने, ‘राष्ट्र बैंकमा आएर १० थरि कुरा हुन्छन् । त्योमध्ये कति ट्रान्सफरबेल हो, कति होइन ? आफै हेरेर काम गर्न सकिने व्यवस्था हुँदैछ ।’ 

Share News