विजयपुर खोलामा ‘गिर्डर लन्चिङ’ सुरु, पृथ्वी​​​​​​​राजमार्ग ४ घण्टा बन्द

काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने पोखराको विजयपुर खोलामाथि निर्माणाधीन पुलमा आजदेखि ‘गिर्डर लन्चिङ’ (पुललाई अड्याउन प्रयोग गरिने निदाल) सुरु भएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्डले राजमार्ग स्तरोन्नतिको काम गर्दै आएको छ ।

सोही आयोजनाअन्तर्गत विजयपुर खोलामा पक्की मोटरेबल पुल निर्माण भइरहेको हो । उक्त आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरले सोमबारदेखि पुल क्षेत्र बाहिर तयार पारिएका गिर्डरलाई पुलमाथि राख्ने कार्य (गिर्डर लन्चिङ) सुरु भएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म दैनिक ४ घण्टा सडक बन्द गरेर काम भइरहेको हो ।

आयोजना प्रमुख कुँवरले भने, ‘पहिलो दिन एउटा गिर्डर राखिएको छ । मङ्सिर ११ गतेसम्म १५ वटा राख्ने योजना अुनसार आजदेखि काम हुनेछ । सकभर कम ट्राफिक जाम होस् भनेर दैनिक चार घण्टा सडक बाटो बन्द गरेर काम भइरहेको छ ।’

विजयपुर खोलाको पुल अबको २ महिनाभित्रमा निर्माण सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । 

‘गिर्डर राखेपछि पुलको स्लाब ढलान र दुवैतिरको सडक ढलान बाँकी छ । २ महिनाभित्रमा सबै काम सकिन्छ,’ कुँवरले भने । 

एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-मुग्लिङ सडक आयोजनाको पश्चिम खण्डमा पोखराको सेती नदी र विजयपुर खोलामाथि कङ्क्रिट र फलाम प्रयोग गरेर पुल निर्माणको चरणमा छ ।

आयोजना प्रमुख कुँवरले राजमार्गमा सवारीसाधनको चापले पुलको काममा कठिनाइ हुने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । मुग्लिन-पोखरा सडक आयोजनाले दुई पाङ्ग्रे तथा साना सवारीसाधनका लागि बूढी बजारबाट बेल चौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउस चोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । उक्त आयोजनाअन्तर्गत पश्चिम खण्डको पोखराबाट तनहुँको जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको प्रमुख कुँवरले जानकारी दिए ।

Share News