एकै दिन १८ विपद्का घटना, देशभर आगलागीको संख्या बढ्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका २/२ वटा घटना घटेका छन् ।

मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा-१ तालडाँडास्थित बेँसीसहर-चामे सडक खण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्प दंशका घटना भयो । विपद्का कारण २ जना घाइते भए भने अनुमानित क्षति ५३ लाख ७ हजार ५५० रुपैयाँ बराबर भयो ।

त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा २/२ वटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासी पूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो ।  त्यस दिन पाल्पाको रिब्दीकोट-३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो ।

प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकै दिन रुपन्देही र कास्कीमा ३/३ वटा आगलागीका घटना भए । झापामा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो । विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति १३ लाख ६५ हजार रुपैयाँ बराबर भयो । त्यस दिन जनावर आक्रमणका ५ घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए ।

त्यस्तै, मङ्सिर ३ गते देशव्यापी रूपमा १६ विपद्का घटना घटेका थिए । त्यसमा आगलागीका मात्रै १२ घटना थिए । लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए । विपद्का कारण २ करोड ७६ लाख ३१ हजार रूपैयाँ बराबरको क्षति भयो ।

प्राधिकरणको विवरण अनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए । कञ्चनपुर, सुनसरीमा मात्रै २ वटा आगलागीका घटना भए । त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासी पूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो । लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका १/१ घटना भएका थिए । त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने ३१ लाख १४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भयो ।

त्यसैगरी, मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए । आगलागीमा परेर २ जना घाइते भए भने १४ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानका कारण भएको छ भने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ ।

जनचेतनाको अभाव एवं लापरबाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुन पुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ । 

Share News