काठमाडौं । मंसिर महिनामा सरकारी उच्च प्रशासन संरचनामा फेरबदल हुँदैछ । मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा जाने भएपछि प्रशासन सेवामा दुई नयाँ सचिवका लागि बाटो खुलेको छ ।
मुख्यसचिव अर्याल मंसिर १० गते सेवा अवधि पूरा गरी अवकाशमा जाँदैछन् । सोही दिन पाँचवर्षे सेवा अवधि पूरा हुने सचिव दुवाडी पनि अनिवार्य अवकाशमा जानेछन् ।
दुवाडी जेनजी आन्दोलनको क्रममा गृह सचिव रहेका थिए । आन्दोलनमा बल प्रयोग भएको मुद्दा टुंगो नलागेकै कारण उनलाई सचिव पदमै एक्जिट गराउने तयारी सरकारले अघि बढाएको बताइएको छ ।
सुमनराज अर्यालको सम्भावना उच्च
मुख्य सचिव एकनारायण अर्याल अवकाशमा गएपछि वरिष्ठताका आधारमा रक्षासचिव सुमनराज अर्याल मुख्य सचिव बन्ने प्रबल सम्भावना रहेको मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा रहेको स्रोतले बताएको छ ।
यदि सुमनराज अर्याल मुख्यसचिव बने भने प्रशासन सेवातर्फ सचिवका दुई पद रिक्त हुनेछन् ।
सचिव सिफारिसका लागि ३ सहसचिव प्रतिस्पर्धामा
मुख्यसचिवसहित दुई सचिवको अवकाश भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्न सक्ने व्यवस्था छ ।
मन्त्रालय स्रोतका अनुसार मुख्य सचिवमा सुमनराज अर्यालको पदोन्नति भएमा कामु सचिव बैकुण्ठ अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वरिष्ठ सहसचिव राजेन्द्र पौडेल सचिवमा पदोन्नति हुने सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।
सचिवको दौडमा श्रम विभागका महानिर्देशक कमल भट्टराई पनि रहेका छन् । स्रोतका अनुसार भट्टराई आगामी लटमा पक्का उम्मेदवार देखिए पनि यस पटक उनको सम्भावना तुलनात्मक रूपमा कम रहेको छ ।