११औँ अन्तर्राष्ट्रिय ब्राह्मण सम्मेलन काठमाडौंमा हुने, अमेरिकासहित ९ देशबाट सहभागी हुने

काठमाडौं । जन्म र कर्म दुवै आधारमा ब्राह्मण भएकाहरूको ११औँ अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर १२, १३ र १४ गते काठमाडौंमा हुने भएको छ ।

ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रस्ट नेपाल शाखाको आयोजनामा तीन दिने सम्मेलन गर्न लागिएको संयोजक धर्मराज बरालले जानकारी दिए । सम्मेलनमा ९ वटा देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको पनि उनले सुनाए । अन्य देशबाट आउने प्रतिनिधिको नाम पनि केही दिनमा प्राप्त हुने भएको छ ।

भारत, पाकिस्तान, बङ्गलादेश, अमेरिका, हल्याण्ड, जर्मनी, अस्ट्रेलिया, सुरीनाम, बेलायत लगायत देशबाट आउने प्रतिनिधिको नामावली प्राप्त भइसकेको सङ्गठनका मुख्य संरक्षक गर्गाचार्य गुरु अर्जुनप्रसाद बास्तोलाले बताए ।

सम्मेलनमा विदेशबाट १५० जना प्रतिनिधि आउने छन् । नेपालका ५० जना ब्राम्हणको सम्मेलनमा सहभागिता रहने जनाइएको छ । तीन दिन चल्ने सम्मेलनमा २०० जना सहभागी हुनेछन् ।

कर्मले सनातनी ब्राम्हणको व्यवहार गर्नेहरूले यस सङ्गठनको सदस्यता लिनसक्ने सम्मेलनको सचिवालय संयोजक रहेका पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

सम्मेलन पशुपति क्षेत्रमै आयोजना गरिने जनाइएको छ । सम्मेलनको अन्तिम दिन मङ्सिर १४ गते काठमाडौं घोषणापत्र पनि जारी गर्ने तयारी भएको छ । भारतमा दर्ता भएको सङ्गठनको हालको अन्तर्राष्ट्रिय अध्यक्ष डा सुरेशचन्द्र कौशिक रहेका छन् । 

Share News