काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हट्ने भएको छ ।सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बिहीबार भएको वार्ताले ११ बुँदे सहमति जुटाएको हो ।
बैठकमा सहरी विकास मन्त्रालय, प्रभावित क्षेत्र धादिङको धुनिबेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिकाका पदाधिकारी र स्थानीय बासिन्दा सहभागी थिए ।
सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको हो । साथै सरकारले स्थानीयलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने सहमति समेत जुटेको छ ।
बन्चरेडाँडाका स्थानीयका लागि तत्काल चालु आव २०८२/८३ को घरटहरा तथा बालीको मुआब्जा दिन काठमाडौं महागरपालिकालाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।
साथै महानगरले एक महिनाभित्र बन्चरेडाँडा क्षेत्रका अतिप्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई दिइएको आधारमा बन्चरेका हकमा समेत सोहीलाई आधार मानेर क्षतिपूर्ति दिने सहमति जुटेको छ ।

