राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा मुलुकको समग्र सुरक्षा स्थिति, सीमावर्ती क्षेत्रका चुनौती, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सुरक्षा व्यवस्थापन र आन्तरिक सुरक्षामा देखिएका नयाँ जोखिमबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रका प्रतिवेदन प्रस्तुत गर्दै हालको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । 

सम्भावित सुरक्षा चुनौतीहरू पहिचान गर्ने र तिनको प्रतिकार रणनीति तयार गर्ने लक्ष्यसहित बैठकले आगामी दिनमा सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशहरू जारी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा सबै निकायबीच समन्वय र तयारी अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षा नीतिहरूलाई अद्यावधिक गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन् ।

Share News