हेटौंडा । भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ ।
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।
नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलीब्रिज अनुदानमा उपलब्ध गराएको हो ।
गत वर्ष भारतले १० वटा बेलीब्रिज नेपाललाई दिएको थियो ।
भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेलीब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गरे ।
भारतले उपलब्ध गराएको बेलीब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ ।
पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनःस्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैं तयार रहेको बताए ।
बाँकी नौवटा बेलीब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने जनाइएको छ ।