एनएमबि बैंकले सुरु गर्यो सफ्टपोस सेवा, मोबाइलबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । सफ्टपोसले कुनै पनि एनएफसी समर्थित एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डबाट साना तथा मझौला उद्यम, पर्यटन उद्यम र अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् । यसले व्यवसायीहरूलाई पोस मेसिनको झन्झटबिना डिजिटल भुक्तानी लिन सहजता प्रदान गर्नेछ ।

एनएमबि बैंकले सफ्टपोसको प्रयोग साना व्यापारी, डेलिभरी सेवा र टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने उद्देश्यले लिएको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, 'सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।'

सफ्टपोसले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार काम गर्ने भएकाले व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।

Share News