म्यानमारमा ठगिएका ३७ नेपालीको उद्धार, थाइल्याण्डबाट स्वदेश फर्काइयो

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमार पुगेका ३७ नेपाली नागरिकलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ ।

नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय र सहयोग गर्दै उद्धार गरी नेपाल एयरलाइन्सको उडान नं आरए–४०२ मार्फत उनीहरूलाई काठमाडौं ल्याएको हो ।

यी नेपाली नागरिकहरू म्यानमारमा अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन ठगी’ केन्द्रहरूमा अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीजस्ता काममा संलग्न थिए । म्यानमार सुरक्षाकर्मीले स्क्यामिङ केन्द्रमा छापा मार्दा उनीहरू भागेर थाइल्याण्ड प्रवेश गरेका थिए ।

त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ जना नेपाली नागरिकलाई पनि यथाशीघ्र नेपाल फर्काउने प्रयास भइरहेको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड अनुसार मात्र वैदेशिक रोजगारीमा जानुपर्ने राजदूतावास बताएकाे छ।

राजदूतावासका अनुसार छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहाना गरेर वैदेशिक रोजगारीमा नजाने र वैधानिक प्रक्रिया अनुसार मात्र रोजगार लिनु अनिवार्य छ ।

Share News