काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । केहीबेरमै प्रारम्भ भएको आजको बैठकमा आगामी ११औं महाधिवेशनको तयारी प्रमुख एजेन्डा रहेको पार्टीले जनाएको छ ।
एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधि रहनेछन् भने प्रतिनिधि चयन मंसिर १३ गते देशभर एकैदिन गरिनेछ ।
आजको बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाबारे पनि विशेष छलफल हुने एक नेताले जानकारी दिएका छन् । पुनःस्थापनाको मुद्दा उठाउँदै एमालेले देशभर जनपरिचालन गरिरहेकामा यसअघि अदालत जाने विषय छलफल भए पनि पार्टी अदालत गएको थिएन ।
केही दिनअघि बसेको विघटित संसदीय दल बैठकले निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई आवश्यक तयारीको जिम्मा दिएको थियो । अधिकांश सांसदहरूले निवेदनका लागि हस्ताक्षर गरिसकेको एमाले स्रोतले बताएको छ ।
बैठकमा यसबाहेक पनि समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल हुने एमालेले जनाइएको छ ।