रवि लामिछानेको रिटमा बुटवल उच्च अदालतमा आजको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका कानुन व्यवसायीको आग्रहपछि बुटवल उच्च अदालतमा दायर रिट निवेदनमाथिको आज निर्धारित सुनुवाइ स्थगित गरिएको छ । गोला प्रणालीअनुसार तीन नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा परे पनि स्थगन माग गरेपछि पेसी अगाडि बढ्न नसकेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको पेसी बिहीबारका लागि तोकिएको थियो । एकै दिन पाटन उच्च अदालतमा पनि लामिछानेसम्बन्धी मुद्दा परेकोले, कानुन व्यवसायीले बुटवलमा स्थगन माग गरेका हुन् । अदालतका उप–रजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार सोही माग स्वीकृत गरिँदै सुनुवाइ स्थगित गरिएको हो ।

यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको मूल अभियोग मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो । सो मिसिल प्राप्त हुने अपेक्षासहित आजको पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित भएपछि अब अर्को मिति पुनः निर्धारण गरिने अदालतले जनाएको छ ।  

Share News