जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुन: निर्माणका लागि निर्माण परिषद्‌को १ करोड सहयोग

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ । 

परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको  हो । 

परिषद्का अध्यक्षसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई चेक हस्तान्तरण गरे ।

कोषमा ७ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । 

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुन:निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहने गरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ । 

समितिको केही दिनअघिको बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाकाका लागि कार्यक्रममा खर्च गर्ने निर्णय गरेको थियो ।

Share News