एनपीएलको सबै टिकट बिक्री, अनावश्यक भीड नगर्न प्रहरीको अनुरोध

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा बुधबार साँझ ४ बजे हुने नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुरखास र सुदूरपश्चिम रोयल्सबीचको ओपनिङ खेलका लागि सबै टिकट बिक्री भइसकेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले टिकट नपाएका दर्शकहरूलाई खेलस्थल वरिपरि अनावश्यक भीड नगर्न विशेष अनुरोध गरेको छ । प्रहरीका अनुसार दर्शकको संख्या बढ्दा सुरक्षा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले सूचना जारी गरिएको हो ।

नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो क्रेज र उत्साहका कारण आजको खेलका लागि टिकटहरू छिट्टै सकिएको हो।  प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, 'टिकट नपाएका महाशयहरू उक्त स्थान वरिपरि भीड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरिन्छ ।'

Share News