काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले हालसम्म सञ्चालन गरेका गतिविधि, निर्णय र आगामी योजनाबारे राजनीतिक दलहरूलाई अवगत गराउने उद्देश्यले बुधबार (आज) एक महत्त्वपूर्ण सर्वदलीय बैठक आह्वान गरेकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठकका लागि निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई निमन्त्रणा पठाइएको छ ।
वर्तमान राजनीतिक परिस्थितिमा सरकारका कदम, प्रशासनिक प्रक्रियाहरू, कानुनी तयारी, तथा आगामी निर्वाचन व्यवस्थापनलगायत विषयमा दलहरूलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुने तयारीमा रहेको प्रवक्ता महतले जानकारी दिए । अन्तिम क्षणसम्म सहभागी सूचीमा केही परिवर्तन हुन सक्ने प्रवक्ता महतले बताएका छन् ।
यस्तै, नेकपा एमालेले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने निर्णय दोहोर्याएको छ । प्रवक्ता राजेन्द्र गौतमका अनुसार यही निर्णय कार्यान्वयन हुने सम्भावना उच्च छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी हुने निश्चित भएको छ । तर परिस्थितिअनुसार राजेन्द्र पाण्डे सहभागी हुने र दुवै नेतामध्ये एक जना पछि हट्न सक्ने विकल्प पनि खुला राखिएको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए ।